FLASH NEWS
  • Loading...

पूर्वसभापति कोइरालालाई श्रद्धाञ्जलि

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


काठमाडौं—कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको दृढ अठोटले संविधानबाट संविधान जारी गर्न सफल भएको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा बुधबार सानेपामा आयोजित कार्यक्रममा उनले जीवनभर संघर्ष गरेका स्व कोइराला सफल नेता भएको उल्लेख गर्दै सभापति देउवाले संविधान कार्यान्वयन अहिलेको प्रमुख चुनौती रहेको बताए । उनले निर्धारित समयभित्र संविधानअनुसार तीनै तहका निर्वाचन गर्न सकेमात्र राजनीतिक स्थायित्व भई २००७ सालदेखिको प्रजातन्त्र संस्थागत गर्ने लडाइँ अन्त्य हुने धारणा व्यक्त गरे ।
निर्वाचनप्रतिको अन्योलताका सम्बन्धमा सभापति देउवाले आवश्यक कानुनसमेत पारित भइसकेको सन्दर्भमा कुनै पनि हालतमा निर्वाचन भएरै छाड्ने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताउँदै संविधान जारी गर्दाको दृढता दलहरूले कार्यान्वयनमा पनि देखाउनुपर्ने उल्लेख गरे ।
आगामी निर्वाचनको कार्यसूची तय गरी कांग्रेस जनतामाझ जानुपर्ने सुझाव दिँदै उनले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई टंग्याई शीघ्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताए ।
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गर्दै संविधानको कार्यान्वयन र निर्धारित समयमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा पार्टी कोषाध्यक्ष एवं शान्ति तथा पुनःस्थापना मन्त्री सीतादेवी यादवले संविधानको संशोधन नभई सफल कार्यान्वयन हुन नसक्ने बताउँदै पार्टीमा गुटउपगुटको अन्त्य गर्न नेतृत्वलाई आग्रह गरिन् ।
कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरूले संविधानको प्रभावकारी कार्यान्वयन र निर्धारित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे । कोइरालाको २०७२ माघ २५ गतेराति निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित