FLASH NEWS
  • Loading...

उद्योगमा विद्युत् आपूर्ति बढाउने तयारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– विद्युत् प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति बढाउने तयारी गरेको छ । सर्बसाधारणलाई लोडसेडिङमुक्त गराउन सफल भएपछि प्राधिकरणले अब उद्योगलाई नियमित रुपमा विद्युत् आपूर्ति बढाउने तयारी गरेको हो ।
हाल विराटनगर औद्योगिक क्षेत्रमा दैनिक ६, वीरगन्ज हेटौंडा औद्योगिक करिडोरमा दैनिक ८ र भैरहवा औद्योगिक क्षेत्रमा दैनिक ७ घण्टा लोडसेडिङ भइरहेको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा लोडसेडिङ भएको छैन् । नेपालगन्ज औद्योगिक क्षेत्रमा दैनिक २ घण्टा हाराहारीमा मात्र लोडसेडिङ भइरहेको छ ।
परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनबाट बिजुली आयात गरेर वीरगन्ज–हेटौडा औद्योगिक करिडोरलाई लोडसेडिङमुक्त बनाउने तयारी भएको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
यस्तै कटैया–कुसाह १३२ केभी नयाँ प्रसारणलाइनबाट पनि थप ५० मेगावाट बिजुली आपूर्ति गरी विराटनगर औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त बनाउने उनले योजना सुनाए ।
यसका लागि भारतको एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडसंग छिटै छलफल गरी व्यापारिक मूल्यमा थप बिजुली खरिद गरिने उनले स्पष्ट पारे । कटैया–कुसाहबाट ५० मेगावाट बिजुली आपूर्ति बढाउन सकिए पनि परवानीपुर–रक्सौल क्षेत्रमा कम आपूर्ति हुने उनले जानकारी दिए । हाल त्यस क्षेत्रमा विद्युतको प्रणाली सुधारको काम भइरहेकाले कम आपूर्ति हुने भएको छ ।
ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज हेटौंडा औद्योगिक करिडोरलाई छिट्टै लोडसेडिङमुक्त बनाउने घोषणा गरिसकेका छन् । काठमाडौ उपत्यका, पोखरा, चितवनलगायत धेरै क्षेत्र लोडसेडिङमुक्त भएको छ ।
गत वर्ष भारतबाट ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । सरकारले लोडसेडिङ अन्त्य गर्न भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको थियो । खिम्ती–ढल्केबर २२० केभी र हेटौडा–कुलेखानी –स्युचाटार १३२ केभी प्रसारणलाइन सञ्चालनमा आएपछि माग व्यवस्थापन गर्न विद्युत प्राधिकरणलाई सहज भएको छ । काठमाडौमा बढी भएको बिजुली हेटौडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ ।
यो लाइन सञ्चालन भएपछि राजधानीमा थप बिजली आपूर्ति गर्न र बढि भएको बिजुली बाहिर पठाउन सहज हुनेछ । यस्तै राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन पनि सञ्चालनमा आएपछि तराइका वीरगञ्जलगायत अन्य शहरमा देखिएको भोल्टेजको समस्या समाधान भएको छ ।
यसैबीच लगातार बिजुली आपूर्ति हुन थालेपछि उदयपुर सिमेन्ट नाफामा गएको छ । अन्य उद्योगको अवस्था पनि विस्तारै सुधार हुँदै गएको छ । अर्कोवर्ष देखि लोडसेडिङ नहुने निश्चित भएको प्राधिकरणले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित