FLASH NEWS
  • Loading...

समाचारको प्रभावले विक दम्पतीका छोरी विद्यालयमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


म्याग्दी—म्याग्दीको धौलागिरि गाउँ पालिकाअन्तर्गत ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मिता विकका तीन छोरी पाँच महिनापछि बुधबारदेखि विद्यालयमा जान थालेका छन् ।
दृष्टिविहीन विक दम्पतीका चार छोरीमध्ये विद्यालय उमेर समूहका तीन छोरी घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि विद्यालय जान छाडेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन गरेपछि नेपाल विद्यार्थी संघ म्याग्दीले उनीहरूलाई अध्ययनको व्यवस्था मिलाएको हो ।
बाबा र आमा दृष्टिविहीन भएको र घरपरिवारको आर्थिक स्रोत नभएपछि विद्यालय जानबाट वञ्चितीमा परेको सम्बन्धी समाचार प्रकाशन भएपछि आफूहरू विक परिवारलाई भेटेर उनका छोरीको पठनपाठन गराउने जिम्मा लिएको नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाई सभापति निर्मल खत्रीले बताए ।
‘तीन बालिका पाँच महिनादेखि नै विद्यालय जान छाडेका रहेछन्, अध्ययनको अवसरबाट वञ्चित हुन नपरोस् भनेर उनीहरूको पठनपाठन गर्ने सबै जिम्मा हामीले लिएका हौं, उनीहरू आजैदेखि विद्यालय जान थालेका छन्’, खत्रीले भने ।
नेविसंघले दृष्टिविहीन विक दम्पतीकी ११ वर्षीया छोरी निरुता, ८ वर्षीया माइली कमला र साइली ५ वर्षीया अञ्जली विकलाई बेनीस्थित बालमन्दिर आधारभूत विद्यालयमा क्रमशः कक्षा ४, २ र बालकक्षामा भर्ना गराएर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । विद्यालय उमेरका तीन बहिनीलाई आवश्यक पर्ने लत्ताकपडा, विद्यालय पोसाक, शैक्षिक सामग्रीलगायतको व्यवस्थापनसमेत नेविसंघले नै गर्ने जनाएको छ ।
गाउँमा अरूको जग्गामा सामान्य घर बनाएर बस्दै आएपनि जग्गाधनीले पटक–पटक जग्गा किन्न या घर छाड्न दबाब दिएपछि गाउँ नै छाडेर पर्वतको लामाखेतमा अरूको घर भाडामा लिएर बसेका उनीहरूको कोठामा नेविसंघले उज्यालोका लागि सोलार जडान गरिदिएको छ भने उनीहरूको परिवारका लागि आवश्यक पर्ने खाद्यान्न र मासिक रूपमा तिनुपर्ने कोठाभाडा लगायतको बन्दोबस्तसमेत संघले नै गर्ने खत्रीले बताए । दृष्टिविहीन विक दम्पतीको परिवारलाई खाना पकाएर खाने ग्यास सेटको व्यवस्थापन भने अपांग संघ म्याग्दीले गरिदिएको छ । आफूहरू बस्दै आएको घरका जग्गाधनीले ८० हजार मागेपछि विक परिवार गत पुसदेखि म्याग्दी सदरमुकाम बेनी नजिकै पर्वतको लामाखेतमा कोठा भाडामा लिएर बसेका छन् ।
आफूहरूको समस्या बुझेर विद्यालय जान छाडेका छोरीलाई पुनः अध्ययन गर्ने अवसर प्रदान गरेको भन्दै विक दम्पतीले नेपाल विद्यार्थी संघलाई धन्यवादज्ञापन गरेका छन् भने आफूहरूको समस्याबारे समाचार प्रकाशन गरेको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई समेत आभार प्रकट गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित