FLASH NEWS
  • Loading...

नेपाल–भारतबीच विश्वासको वातावरण भए विकास सम्भव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail


नेपाल–भारतबीच विश्वासको वातावरण राम्रो भएमात्र विकास सम्भव भएको वक्ताहरुले बताएका छन् ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउन्डेसनले यहाँ आज आयोजना गरेको ‘नेपाल–भारत अन्तरसम्बन्ध र समग्र विकास सम्भावना’ विषयक अन्तक्र्रियाका वक्ताहरुले दुई देशको विकासका लागि दुई देशबीच विश्वासको खाँचो रहेको औँल्याएका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारतबीच धेरै पुरानो सम्बन्ध रहेको भन्दै यसलाई निरन्तरता दिन दुई मुलुक नै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिजाबाबु प्रधानमन्त्री भएका बेलामा नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बलियो थियो, पछिल्लो समय विश्वासको वातावरण त्यति बलियो हुन सकेको छैन, दुई देशबीच विश्वासको वातावरण बनाउनु जरुरी छ ।”

नेता पौडेलले गिरिजाबाबुको समयमा नेपाल–भारत सम्बन्ध सुमधुर भएका कारण नै मुलुक विकासको बाटोमा गएको बताउनुभयो । उहाँले नेपाल, भारत र चीनको परिवर्तनसँगै भए पनि नेपालमा व्यवस्थाको टुङ्गो लाग्न नसक्दा मुलुक पछाडि परेको उल्लेख गर्नुभयो । नेता पौडेलले हिंसामा मुछिएको मुलुकलाई शान्तिको बाटोमा ल्याउन गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेकपा (एमाले) का सांसद लालबाबु यादवले भारत र नेपालबीचको सम्बन्धमा धेरै समस्या रहेकाले समाधान नगरे दुवै देशलाई समस्या आउने बताउनुभयो । उहाँले गिरिजाप्रसाद कोइराला देश बुझेको देशभक्त नेता भन्दै उहाँको अभाव देशमा खड्किएको बताउनुभयो ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियाले प्रजातन्त्र, शान्ति र विकासमा गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझ विकास हुनसके विकासका कार्यक्रमले अझ गतिलिने बताउनुभयो । दुवै देशका नीति निर्माणकर्ताले विकासका प्राथमिकता निक्र्यौल गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत विनय कुमारले नेपाल र भारतको धर्म, वेषभूषा, रहनसहन लगायतका कुरा मिल्ने बताउँदै नेपाल–भारतको बहुक्षेत्रमा विकासका कार्यक्रम अगाडि बढेको बताउनुभयो । दुई देशबीचको सुमधुर सम्बन्धका कारण पछिल्ला वर्षमा धेरै विकास आयोजना अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, गिरिजाप्रसाद कोइरालाको समयमा नेपालको अर्थतन्त्रले ठूलो फड्को मारेको थियो ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध बहुक्षेत्रमा आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको उत्पादनले भारतको बजार बनाउन सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै गिरिजाप्रसाद कोइरालाको पालामा नेपालले सबैभन्दा बढी आर्थिक वृद्धि हासिल गर्न सकेको तथ्य प्रस्तुत गर्नुभयो ।

फाउन्डेसनकी उपाध्यक्ष मेलानिया रोशा चौधरी, नेपाल विश्व सम्बन्ध परिषदका पूर्वअध्यक्ष डा राजेन्द्र श्रेष्ठ, पूर्वराजदूत डा सुरेश चालिसे लगायतले नेपाल–भारतबीचकोे सम्बन्ध प्रगाढ बनाएर विकासका सम्भावनालाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित