FLASH NEWS
  • Loading...

कुचो व्यवसायी मारमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

काभ्रे, १५ चैत । पनौती–६ का २८ वर्षीया लस्मिता लामाले दैनिक एक सयवटा कुचो बनाउँदै आउनुभएको छ । उहाँले कुचो बिक्री गरेर वार्षिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्छ । तर यस वर्ष उचित मूल्य नपाउँदा सोचे जस्तो आम्दानी नहुनेमा लामा चिन्तित हुनुहुन्छ ।

कुचोको उचित मूल्य नपाउँदा मारमा परेको उहाँको भनाइ छ । लामा विगत २१ वर्षदेखि कुचो बनाउँदै आउनुभएको छ ।

लामा जस्तै त्यहाँका अन्य व्यापारी पनि कुचोको उचित मूल्य नपाएपछि मारमा परेका छन् । “भाउ बजारमा निर्भर हुने भएकाले मूल्य घटबढ भइराख्छ,” अर्का व्यापारी प्रकाश लामाले भन्नुभयो । उहाँले सिन्धुपाल्चोक र सिन्धुलीबाट कुचो बनाउने कच्चा पदार्थ (अम्रिसो) सङ्कलन गर्दै आउनुभएको छ ।

हाल उहाँले महाँकाल कुचो उद्योगका रुपमा दर्ता गरेर सञ्चालन गर्दै आउनुभएको छ । हाल कुचो बनाउन कच्चा पदार्थभन्दा पनि ज्यामीलाई दिने ज्याला बढी भएका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको लामा बताउनुहुन्छ ।

“व्यवसायबाट घाटा भएपछि परिवारको खर्च धान्न कठिन भएको छ,” उहाँले भन्नुभयो । कुचो बनाउने ज्यामीको समेत अभाव भएको लामाको भनाइ छ ।

कुचोको उचित मूल्य नपाएपछि व्यापारीमात्र नभई उत्पादन गर्ने कृषकसमेत समस्यामा परेका छन् । करिब ३० रोपनी जग्गामा अम्रिसो उत्पादन गर्दै आएका पनौती–११ का पुस्कल महत गत वर्ष कुचोको मूल्य राम्रै पाए पनि यस वर्ष उचित मूल्य नपाउँदा बिक्री गर्न नसकेको बताउनुहुन्छ ।

“बाढीपहिरोबाट जग्गा जोगिने भएकाले नै कुचो उत्पादन सुरु गरेको हुँ” महतले भन्नुभयो । अम्रिसो उत्पादन पर्याप्त मात्रामा हुने भए पनि उचित मूल्य नपाउँदा मारमा परेको उहाँले बताउनुभयो । गत वर्ष व्यापारी अम्रिसो किन्न घरमै आउने गरेका तर यस वर्ष भने नआएका महत बताउनुहुन्छ ।

जिल्लामा कुल ४२५ कबुलियती वन र ५६५ सामुदायिक वन रहेका छन् । ती सवैलाई जिल्ला वन कार्यालयले अम्रिसोको बिरुवा वितरण गर्दै आएको जिल्ला वन अधिकृत प्रेम खनालले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित