FLASH NEWS
  • Loading...

हात्तीले आतङ्कित बनाएपछि सुरक्षा माग्दै काठमाडौँमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २२ चैत । जङ्गली हात्तीले आतङ्कित बनाएपछि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका बासिन्दा सुरक्षा माग्दै काठमाडौँ आएका छन् ।

मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको श्रीरामनगर उपभोक्ता समितिको नेतृत्वको १४ सदस्य टोलीले आज राजधानीमा पत्रकार सम्मलेन गर्दै हात्ती आक्रमणबाट यस वर्ष मात्रै सात जनाको मृत्यु भएको, पाँचजना गम्भीर घाइते भएका भन्दै सुरक्षा र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष तथा टोलीका संयोजक नवराज न्यौपानेले निकुञ्ज वरपरका बस्ती हालको ठाकुरबाबा नपामा पर्ने बलाती, डुमे्रनी, कर्मला र साविक पाताभार, मनाउ, सूर्यपटुवा, ठाकुरद्वारा र शिवपुर गाविस जङ्गली हात्तीबाट बढी पीडित भएको बताउनुभयो ।

हात्तीले गाउँमा पसी यो वर्षमा बर्दियामा ४०० घर भत्काएको छ भने ७५ घरको अन्न खाएको र ३० बिगाहा जग्गामा लगाएको गहुँबाली नष्ट गरेको उहाँले जानकारी दिनुभयो ।

दैनिकरुपमा आतङक मच्चाइरहँदा पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि सञ्चालित परियोजनाले पारदर्शीरुपमा काम नगर्दा जनतालाई थप पीडा थपेको स्थानीय बासिन्दा तथा जराहीफाँटा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष धर्मराज शर्माले दुखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो, “निकुञ्ज संरक्षणका लागि स्थानीयले दिलोज्यान लगाएका छन् । नाङ्गो जमिन हरियाली बनाई वनजन्तुको बासस्थान बनायौँ । तिनै जनावरले अहिले रातभर सुत्न दिँदैनन् । झन्झटिलो राहत प्रक्रियाले झनै आहत बनाएको छ । त्यसैले राहत प्रक्रिया छिटो दिने व्यवस्था गरिनुपर्छ ।”

प्रतिनिधिमण्डलले वन तथा भू–संरक्षण मन्त्री, निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक, राष्ट्रिय योजना आयोगका सदस्य र विश्व वन्यजन्तु कोषका पदाधिकारीलाई भेटी ज्ञापनपत्रसमेत बुझाएको छ ।

टोलीले वन्यजन्तुबाट मारिने व्यक्तिका आश्रित परिवारलाई सात दिनभित्र रु १० लाख राहत दिनुपर्ने, आक्रमणमा परी घाइते भएकालाई उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्नुपर्ने, हात्तीले भत्काएका घरमा ५० क्युफिट काठ निःशुल्क उपलब्ध गराउन पनि सरकारसमक्ष माग गरेको छ ।

साथै, टोलीले सरकारले मन्त्रालयबाट विज्ञ टोली खटाई मानिस मार्न पल्केको हात्ती पहिचान गरी चिडियाखानामा राख्ने वा अन्य उपाय गर्न पनि माग राखेको टोलीका सदस्य फिरु चौधरीले जानकारी दिनुभयो ।

नौसय ६८ वर्ग किमी क्षेत्रफल रहेको बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र ५०७ वर्ग किमी छ जसमा एक मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, १९ वटा उपभोक्ता समिति, २६३ वटा उपभोक्ता समूह र १३३ मध्यवर्ती सामुदायिक उपभोक्ता समूह छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित