FLASH NEWS
  • Loading...

हलेसीमा रामनवमी मेला, दर्शनार्थीको घुइँचो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

खोटाङ, २३ चैत । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो ।

मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो ।

उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी नदीमा पक्की पुल तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीमा अस्थायी बेलीब्रीज सञ्चालनमा रहेकाले हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।

“हलेसीसम्मको सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायतका दर्शनार्थी सिधै गाडी रिजर्भ गरेर आएका छन्,” उहाँले भन्नुभयो, “दर्शनार्थीको बाक्लो भीड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयम्सेवक परिचालन गरिएको छ ।”

मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । “हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ,” उहाँले भन्नुभयो, “मेलामा लाग्ने भीडभाडलाई सुरक्षाकर्मीले व्यवस्थित गरिरहेका छन् ।”

धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ । तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो ।

यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल बराहापोखरी, ट्याम्के, दिक्तेलको मझुवागढीस्थित कालिका मन्दिरलगायतमा समेत ठूलो मेला लागेको छ । हलेसीबाहेक अन्य ठाउँमा एकदिने मेला लाग्ने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित