FLASH NEWS
  • Loading...

पर्यटन खस्केकामा व्यवसायीको चिन्ता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २४ चैत । मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सडक यातायात भरपर्दो र सुरक्षित नभएकाले दोस्रो पर्यटकीय गन्तव्यस्थल चितवनप्रति अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक असर परेकामा पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

चितवनको पर्यटन प्रवद्र्धनका लागि विमान कम्पनीको भूमिकाको विषयमा होटल सङ्घ नेपाल(हान)ले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी होटल तथा पर्यटन व्यवसायीहरुले सडक निर्माणको काम सम्पन्न नभएसम्मका लागि भए पनि काठमाडौँ–भरतपुरसम्मका लागि हुने उडान बढाउन र हालको भाडादरमा कम गर्न तथा पोखरा र लुम्बिनीबाट भरतपुरसम्म नयाँ उडान भर्न विमान कम्पनीसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा हानका पूर्वअध्यक्ष प्रकाश श्रेष्ठले राजधानी र पोखरालगायत अन्य प्रमुख सहरबाट चितवनसम्मको स्थल तथा हवाई यातायात भरपर्दो छ भन्ने सुनिश्चित नभएकाले चितवनको गन्तव्य बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले चितवनमा करिब १५० वटा पर्यटकीय होटल रहेको, झन्डै रु आठ अर्ब लगानी भएको भए पनि सडक र हवाई सम्पर्क राम्रो नहुँदा दुई वर्षदेखि पर्यटक आवागमनमा ६० प्रतिशतले ह्रास आउँदा होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको उल्लेख गर्नुभयो ।

उहाँले भरतपुर विमानस्थललाई रात्रिकालीन गराउन सरकारसँग आग्रह गर्दै विमानस्थलबाट आउने पर्यटकका लागि होटलमा २५ प्रतिशत छुटको सुविधा दिन लागिएको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य राजेन्द्र सापकोटाले नेपालको तेस्रो मुख्य पर्यटकीय गन्तव्यस्थल चितवनमा पर्यटकले जान चाहेर पनि जानसक्ने अवस्था नहुँदा विस्तारै टुर अप्रेटरहरुले गन्तव्यबाट हटाउन थालेकाले यसलाई पुनःस्थापित गर्न निकै गारो हुने हुँदा अहिले नै यसतर्फ सचेत हुनु पर्दछ भन्नुभयो ।

हानका अध्यक्ष अमरमान शाक्यले सडक यातायात भरपर्दो नभएका अवस्थामा विमान कम्पनी र होटल व्यवसायीले विशेष प्याकेज सञ्चालन गरेर चितवनमा पर्यटक आगमनलाई घट्न नदिन पहल गरिने बताउनुभयो ।

बुद्ध एयरका निर्देशक रुपेश जोशीले भरतपुर विमानस्थलको लम्बाइ ११६० मिटर मात्र भएकाले यहाँ ठूला विमान जान नसक्ने, बत्तीको राम्रो प्रबन्ध नहुँदा रात्रिकालीन उडान भर्न कठिन भएको बताउँदै पोखराबाट पर्यटकको माग भएमा पोखरा–भरतपुर उडान भर्न सकिने बताउनुभयो ।

नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेतीले निगमले छिटै काठमाडौँ–मेघौली उडान भर्ने जानकारी दिनुभयो । हाल बुद्ध एयर, यति एयरलाइन्स र सिम्रिक एयरले दैनिक १३ वटा उडान भर्दै आएका छन् ।

हानका महासचिव विनायक शाहले एकसिङगे गैँडा र पाटेबाघका लागि विश्वमै प्रसिद्धि कमाएको चितवन जाने सडकमार्ग भरपर्दो र सुरक्षित नहुँदा पोखरा र लुम्बिनीको पर्यटनमा समेत नकारात्मक असर परेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित