FLASH NEWS
  • Loading...

सातवर्षदेखि डोरीले बाँधेर राखिएका छन् रक्की

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ९ वर्षीय रक्की सुनारलाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्कको राम्रो विकास नभएका सुनारलाई परिवारजनले २ वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् ।

“जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आएका छौँ”, रक्किकी बज्यै हिरादेवी सुनारले भन्नुभयो, “पहिले आमा, बुबा भनेर बोल्थ्यो, हाल बोल्नसमेत नसक्ने अवस्थामा छ ।” घरको आर्थिक अवस्था कमजोर भएकाले सामान्य उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगेपनि ठीक हुन नसकेको उहाँले बताउनुभयो ।

एक कट्ठा ऐलानी जग्गामा बनेको छाप्रोमा बस्दै आएको सुनार परिवारसँग कमाई खाने जग्गा नहँुदा घरका महिलाले दैनिक दाउरा बिक्री गरी साँझ–बिहानको छाक टार्दै आएका छन् ।

रक्कीका बुबा रमेश कहिलेकाहीँ मजदुरी गर्न भारततर्फ जाने गरेका छन् । “दाउरा बिक्री गरेको पैसाले खानलाई त पुग्दैन”, हिरादेवीले भन्नुभयो, “उपचार खर्च गर्नका लागि पैसा चाहिन्छ त्यो हामीसँग छैन ।” जथाभावी दिसापिसाब गर्ने भएकाले रक्कीलाई परिवारजनले खानपिनमा पनि ध्यान नदिँदा उनको शरीरसमेत सुक्दै गएको छ ।

“कुपोषणका कारण आँखा भित्र पसेका छन्, हातखुट्टा पूरै सुकेका छन् । हाड र छाला मात्रै बाँकी छ”, समाजसेवी कमल विकले भन्नुभयो, “चाँडै उपचार नपाए ज्यान जाने खतरासमेत छ ।”

बन्धनमुक्त गरी उपचार गरिदिने दाताको खोजीमा रहेको उहाँले बताउनुभयो । “परिवारको आर्थिक अवस्था दयनीय भएकाले दाताले सहयोग जुटाए ९ वर्षीय बालकको ज्यान बच्ने थियो”, उहाँले भन्नुभयो । राम्रो अस्पतालमा उपचार पाए उनी ठीक हुने भएकाले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैको हातेमालो जरुरी रहेको उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित