FLASH NEWS
  • Loading...

गुरुकुल पाठशाला सञ्चालन गर्न आर्थिक अभाव

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०४ पटक पढिएको
Post Thumbnail


रामपुर (पाल्पा), २४ वैशाख । कालीगण्डकीको उत्तरगङ्गा चापाकोटमा रहेको मणिमुकुन्देश्वर गुरुकुल पाठशाला आर्थिक अभावमा अहिले सञ्चालन गर्न समस्या परेको छ । हिन्दू धर्मग्रन्थअनुसार संस्कृत भाषामा पठनपाठन हुँदै आइरहेको गुरुकुल पाठशालाको आयस्रोत नहँुदा पाठशाला कसरी सञ्चालन गर्ने भन्ने समस्याले पिरोल्न थालेको छ । विसं २०६५ मा स्थापना भई सञ्चालन हुँदै आइरहेको यस पाठशालाको आर्थिक अवस्था बलियो नहँुदा गुरुकुल सञ्चालक समिति, शिक्षक र यहाँका स्थानीय बासिन्दालाई सञ्चालन गर्न ठूलो समस्या आइपरेको हो ।

गुरुकुलमा अध्ययन गर्न टाढाटाढाबाट विद्यार्थी यहाँ आएका छन्, आर्थिक समस्याले विद्यार्थीलाई घर जाऊ भन्न पनि सकिएन, चलाऊँ कसरी ? भन्ने ठूलो समस्या आइलागेको गुरुकुलका अध्यक्ष दीर्घवन्धु पौडेल बताउनुहुन्छ । गुरुकुलको नाममा ३२ रोपनी जग्गा रहेको छ, त्यसमध्ये २२ रोपनी धान फल्ने खेत छ । बर्सेनि नहर पहिरो गई पानी नियमित सञ्चालन नहँुदा खाद्यान्न उत्पादनमा समस्या परेर पाठशाला चलाउन निकै धौ–धौ भएको पौडेल बताउनुहुन्छ ।
विभिन्न सङ्घसंस्था, व्यक्ति, स्थानीयवासीबाट आर्थिक रकम जुटाएर भए पनि पाठशाला नियमित रूपमा सञ्चालन गर्ने सोचमा रहेको पौडेलको भनाइ छ ।

संस्कृत भाषाको उत्थान, अनुशासन, कर्मकाण्ड, नैतिक चरित्रवान निर्माण गर्ने उद्देश्यका साथ गुरुकुल पाठशाला सञ्चालनमा ल्याइएको हो ।

यस पाठशालामा अध्ययन गर्ने विद्यार्थीलाई गाँस, बास र निःशुल्क पढ्ने व्यवस्था रहेकाले पाल्पा, स्याङजा, कास्की, जुम्ला, सुर्खेत, बर्दियालगायतका विभिन्न जिल्लाबाट अध्ययन गर्न आउने गर्छन् । एक दरवन्दीसहित निजी स्रोतका तीन गरी चार शिक्षक, २५ जना विद्यार्थी, दुईजना भान्से र हेरालु गरी ३१ जना यही गुरुकुलको आश्रममा बसोबास गर्दै आइरहेका छन् ।

एक महिनामा झन्डै रु ७० हजार बराबरको खाद्यान्नमा खर्च हुने गरेको प्रधानाध्यापक शोभाकान्त पङ्गेनी बताउनुहुन्छ । पाठशालालाई नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई वैकल्पिक व्यवस्था मिलाइदिन उहाँ आग्रह गर्नुहुन्छ ।

यहाँ अनिवार्य विषयतर्फ अङ्ग्रेजी, गणित, नेपाली, सामाजिक र ऐच्छिक विषयतर्फ कर्मकाण्ड, संस्कृत भाषा, संस्कृत व्याकरण, वेद र रूद्रीलगायतका विषय पठनपाठन हुँदै आएको छ । बेलाबेलामा पुराण, कथा प्रवचन, महायज्ञलगायतका विभिन्न धार्मिक कार्य सञ्चालन गरेर बढो मुस्किलले गुरुकुल चलाउँदै आएका छौँ, अबका दिनमा कसरी चलाउने हो ? भन्ने ठूलो समस्या काँधमा आइपरेको समाजसेवी डोलराज न्यौपाने बताउनुहुन्छ ।

कलकल बग्ने कालीगण्डकीको मनोरम दृश्य, चिसो हावा बहने पवित्र उत्तरगङ्गामा अवस्थित यस गुरुकुल पाठशाला प्राकृतिक रूपमा भरिपूर्ण र अति नै सुन्दर ठाउँमा सञ्चालित छ । तर आर्थिक अभावमा यस धार्मिक धरोहरका रूपमा रहेको विशेषतः हिन्दू धर्मालम्बीहरूको महत्व र आस्थाको केन्द्रविन्दु मानिने गुरुकुल पाठशालालाई समस्याकै बाबजुद पनि यहाँका स्थानीयवासीले हालसम्म सञ्चालनमा ल्याएका छन् ।

यहाँ कक्षा ६ देखि ८ सम्म मात्र पढाइ हुने गर्छ । यस पाठशालामा नौदेखि १३ वर्ष उमेर समूहका छात्रमात्र पठनपाठन गर्छन् । गुरुकुलमा अध्ययनरत छात्रले बिहानै उठेर नुहाइधुवाइ गरेपछि मन्दिरमा नित्य पूजाआजा, वेद, कथा वाचन, स्वस्ती शान्तिलगायतका पाठ प्रवचन गर्ने गर्छन् ।
विद्यालयमा अक्षयकोष स्थापना

निस्दी गाउँपालिका–४ को दुर्गममा पर्ने मौलादेवी आधारभूत विद्यालय मित्याल, पाल्पामा अक्षयकोष स्थापनाका लागि आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

तानसेन नगरपालिका–६ बर्तुङ निवासी दामोदर गैरेले रु ५० हजार राशिको ‘दामोदर–गोमा गैरे विद्यार्थी कल्याणकारी छात्रवृत्ति’ नामक अक्षयकोष स्थापना गर्नुभएको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयका प्रधानाध्यापक धनबहादुर ठाडालाई सो रकम हस्तान्तरण गर्नुभयो । विद्यालयलाई आफूले नामका लागि नभई विद्यालयको अवस्था देखेर अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित