FLASH NEWS
  • Loading...

मतदाताको माग ‘पानी, बाटो र औषधि देऊ’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


रमेश गिरी
भक्तपुर—भक्तपुरको दक्षिण भेगमा रहेका सूर्यविनायक नगरपालिकाका मतदाताले गाउँ आएका उम्मेदवारसँग पानी, बाटो र औषधिको माग गरेका छन् ।
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि गाउँ आएका उम्मेदवारसँग उनीहरुले सो माग गरेका हुन् ।
गाउँ मै आफ्ना अधिकार आउने भएपछि मतदान गर्ने पर्खाइमा रहेका यहाँका मतदाता भने गाउँ आएका उम्मेदवारलाई आफ्नो समस्या सुनाउँदै पूरा गराउने वाचा गराएका छन् । सूर्यविनायक नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट विष्णुराज कार्की, नेकपा (एमाले)बाट वासुदेव थापा, नेकपा (माओवादी केन्द्र)बाट जीवन तज, राप्रपाबाट प्रवीण शर्मा ढुगेंल, नेमकिपाबाट मनशोभा सुवाल, संघीय समाजवादी फोरमबाट नारायणकृष्ण थापा, नेकपा (माले)बाट ज्ञानीराम च्वामु श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट रमेश बन्जाडे, राष्ट्रिय जनमुक्ति पार्टीबाट दिलबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार सानुकाजी छुँ श्रेष्ठ गरी १० जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपप्रमुख पदमा कांग्रेसबाट कल्पना राजथला, एमालेबाट जुना बस्नेत, माओवादी केन्द्रबाट पूण्यवती चौलागाईं, राप्रपाबाट जयन्ती बूढाथोकी, नेमकिपाबाट महेन्द्र बखुन्छे, संघीय समाजवादी फोरमबाट दिना लामा, नेकपा मालेबाट वीणा श्रेष्ठ गरी ७ जनाले उम्मेदवारी दिएका छन् ।
मत माग्नका लागि घरघरमा आएका उम्मेदवारलाई स्थानीयबासिन्दाले आफ्ना समस्या सुनाउँदै समस्या समाधान गर्न नसक्नेलाई मत नदिने बताएका थिए । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारका बासिन्दाले कांग्रेस र एमालेका नगरप्रमुखका उम्मेदवारलाई यस क्षेत्रमा खानेपानीको निकै नै समस्या परेकाले पानी दिलाई दिन माग गरेका थिए ।
जवाफमा कांग्रेस र एमालेका उम्मेदवार क्रमशः कार्की र थापाले सिरुटारमा छ महिनाभित्र पानी ल्याइदिने वचन दिएको स्थानीय भूपाल गिरीले बताए ।
मत माग्न घरदैलो कार्यक्रममा गएका नेतासँग सिपाडोल र नंखेलका बासिन्दाले भने पक्की सडक, औषधि र सर्वसुलभ शिक्षाको माग गरेका छन् । सिपाडोल पाटी भञ्ज्याङकी सर्मिला लामाले पक्की सडक नहुँदा भक्तपुरको बजार जान पनि ३ घण्टा हिँडेर ओहोरदोहोर गर्नुपर्ने समस्या भएकाले पक्की बाटो बनाइदिन माग गरेको बताईन् ।

उनले भनिन्, ‘कांग्रेस, एमाले, राप्रपा, नेमकिपा, माओवादीका नेताहरु मत माग्न आए हामीले बाटो, औषधि र शिक्षा माग्याँ।’ यहाँका बासिन्दा माध्यामिक तहमा पढ्न र बिरामी भएर औषधि गर्न जानु पर्दा २ घण्टासम्म हिँडेर काभ्रे वा भक्तपुर जानुपर्ने भएकाले यस्तो माग गरेका हुन् ।
सूर्यविनायक नगरपालिकाको बालकोट, सिरुटार, दधिकोटको केही क्षेत्र र सूर्यविनायकको केही क्षेत्रमा खानेपानीको चरम अभाव छ भने अधिकांश क्षेत्रमा पक्की सडक पुग्न सकेको छैन । नगरपालिकाको गुण्डु, सिपाडोल, दधिकोट, नंखेलका माथिल्लो क्षेत्र निकै नै दुर्गम रहेकाले कतिपय दलका नेताहरु यस क्षेत्रमा भोट माग्नसमेत नगएको मतदाताले गुनासो गरेका छन् ।
कुल ४२ दशमलव ४५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा १० वटा वडामा ७८ हजार ४ सय ९० जनसंख्या छन् । २३ स्थानमा ४९ वटा मतदान केन्द्र रहेको यस नगरपालिकामा ३७ हजार ९ सय ५७ मतदाता छन् । पुरुषभन्दा महिला मतदाता संख्या केहि बढी छन् । २५ हजार ५ सय ८८ पुरुष र २७ हजार ३ सय ४२ महिला मतदाता छन् ।
स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनअनुरुप साविक सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकालाई गाभेर सूर्यविनायक नगरपालिका भएको यो नगरपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले सम्भावना बोकेको नगर हो । ९६ दशमलव ३२ प्रतिशत साक्षर रहेको यस नगरपालिकामा ९ वटा माध्यामिक र आधारभूत तहका ३१ सामुदायिक विद्यालय छन् । कूल १२ प्रतिशत नागरिक गरिबीको रेखामुनी रहेका यस नगरपालिकाको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत रहेको छ ।
नगरका सबै राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा बहुवार्षिक योजना अनुरुप ७ वटा सामुदायिक वन क्षेत्र ओगटेर निर्माण सुरु भइसकेको राष्ट्रिय प्राणी उद्यानलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित