FLASH NEWS
  • Loading...

नदीमा पानीको सतह बढेपछि यातायात अवरुद्ध

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail

उदयपुर, १ जेठ । यस वर्ष वर्षायाम सुरु हुनु अगाडि नै निरन्तर वर्षा हुन थालेर विभिन्न खोला, नाला तथा नदीमा पानीको सतह बढ्न थालेसँगै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सञ्चालन हुँदै आएको यातायात सेवा अवरुद्ध हुन थालेका छन् ।

उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएको यातायातका साधन अहिले गाईघाट दिक्तेल सडकखण्डको बीचमा पर्ने नदी खोलामा पानीको सतह बढेसँगै नियमित यातायात सेवा सञ्चालनमा अवरुद्ध हुन थालेको यातायात व्यवसायी बताउँछन् ।

एक हप्तादेखि यता निरन्तर वर्षा हुन थालेपछि खोटाङको राजापानी र बतासेबीचमा पर्ने साप्सु खोलामा पानीको सतह बढेको र पुल नभएको कारण गाईघाट दिक्तेल सडकखण्ड भएर सिधै सञ्चालन हुने यातायातका साधन सञ्चालनमा अवरुद्ध भएको यातायात सञ्चालक बद्री श्रेष्ठ बताउनुभयो । साप्सु खोलाको पानीको सतह बढेसँगै गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाटसम्म सञ्चालन हुने यातायात साधन साप्सु खोलाबारी र पारी नै रोकिनु परेको स्थानीय वासुदेव रेग्मीले बताउनुभयो ।

यस्तै निरन्तर वर्षाको कारण सुनकोसी नदीको सतह समेत बढेपछि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोसीमा लगाइएको बेलीबृजमा समेत पानीको सतह आइपुगेको कारण बेलीबृज खोल्न पर्ने अवस्था आएको छ । सुनकोसीमा नदीको सतहले बेलीबृजलाई छुन थालेपछि यातायात सञ्चालन खतरा भएको कारण बेलीबृज खोल्ने कार्य सुरु गर्न लागिएको समेत गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले बताएको छ । यातायात सेवा सञ्चालनमा अवरुद्ध हुन थालेपछि दैनिक सयौँको सङ्ख्यामा यात्रु १५८ किलोमिटरसम्म गाईघाट दिक्तेल सडकखण्डको दूरीको यात्रा पैदल हिँड्न पर्ने बाध्यता भएको खोटाङ राजापानीका घनस्याम रेग्मीले बताउनुभयो ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा स्थायी पक्की पुल निर्माण नहुँदा हिउँदमा बेलीबृज जडान गरिने भएता पनि वर्षायाममा नदीको सतह बढ्ने गरेपछि बेलीबृज खोलिने गरेको छ भने अन्य नदी खोलामा अहिलेसम्म पनि पुल निर्माण नहुँदा वर्षायाममा सो सडकखण्डमा यातायात सेवा अवरुद्ध हुँदै आएको यातायात व्यवसायी बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित