FLASH NEWS
  • Loading...

नक्कली नोट छाप्ने सार्वजनिक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

बुटवल—नक्कली नोट छाप्ने एक जना सहित बिभिन्न अपराधिक गतिबिधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका छ जना अभियुक्तहरुलाई बिहिबार प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउपालिका ६ घर भै हाल बुटवल ११ बुद्धनगर बस्ने २१ वर्षिय सन्तोष मल्ललाई नक्कली नोट छापी सक्कली नोटसँग साटेको अभियोगमा पक्राउ गरेको हो । पक्राउ परेका मल्ल सहित प्रहरीले नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ ।
बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथस्थित अपांग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामको गैरसरकारी संस्थाको कार्यालयबाट मल्लले नक्कली नोट तयार गर्ने गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामानसमेत बरामद गरेको जानकारी दिए । प्रहरीले नक्कली नोट तयार गर्न प्रयोग हुने सामान उनको कार्यालय तथा निवासबाट बरामद गरेको हो ।
प्रहरीका अनुसार अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने चलाखीपूर्ण काम गर्दै आएका थिए ।
उनले पहिलोपटक बैंकमा जम्मा गर्न लगेको पैसामा एक थान एक हजार रुपैयाँको नोट समावेश गरेर साटेको र दोस्रोपटक एक हजार रुपैयाँको १ सय थान भित्र १४ थान नक्कली नोट राखेर साट्न सफल भएपछि अन्तिमपटक एक लाख रुपैयाँको चेक साटेर आएको पैसा तत्कालै आफूले लगेको नक्कली नोटको गड्डीसँग साट्न सफल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
पछिल्लोपटक मंगलबार बैंकले एक हजार रुपैयाँका दरको ७० थान नक्कली नोट फेला परेको भन्ने प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा बैंकमा राखेको सिसी क्यामेराको रेकर्ड को आधारमा मल्लले नक्कली नोट ल्याएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनको कार्यालय र निवासमा छापा मारी ती सामानसमेत बरामद भएको प्रनाउ मरासिनीले बताए ।
उनको निवासबाट नेपाली १ हजार दरका १०० थान नोट, ५०० दरका १०० थान र निजले सञ्चालन गरेको कार्यालयबाट १ हजार दरका २५९ थान र १०० दरका पाँच थान नोट, ल्यापटप, अर्फन हेल्पिङ हेन्ड नामको ब्यानर, अर्फन हेल्पिङ हेन्ड नामको रसिद, रबर छाप र पैसा छाप्न प्रयोगमा ल्याइएका कागजसमेत बरामद भएको प्रहरीले जनाएको छ । मंलबार पक्राउ परेका मल्ललाई अदालतवाट खोटा चलन मुद्दामा म्याद थप गराई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको प्रनाउ मरासिनीले जानकारी दिए । मुलुकी ऐन खोटा चलनको महलको ४ नं बमोजिम बिगो बमोजिमको जरीवाना तथा १० बर्ष कैद सजायको व्यवस्था रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित