FLASH NEWS
  • Loading...

डेढ लाख मेगावाट विद्युत निकाल्न सकिने घिसिङको दावी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail


काठमाडौं–नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले खोलानालाको समेत सही प्रयोग गर्न सकिए करिव डेढ लाख मेगावाट विद्युत निकाल्न सकिने बताएका छन् ।
राजधानीमा रामेछाप काठमाडौं पत्रकार समाजले गरेको ‘नेपालमा जलविद्युतको सम्भावना र चुनौति’ विषयक कार्यक्रममा बोल्दै घिसिङले विगतमा ८३ हजार मेगावाट बिद्युत उत्पादन गर्न सकिने भनिएता पनि यसको क्षमता अझ धेरै भएको बताए ।
नेपालका ठूला नदी गण्डकी, कोशी, र कर्णालीबाट २५÷२५ हजार मेगावाट, महाकाली बाट ८ हजार मेगावाट बिद्युत निकाल्न सकिने र अन्य नदीहरुवाट पनि प्रसस्तै बिद्युत निकाल्न सकिने उनले बताए । घिसिङले नेपाल बिस्तारै लोडसेडिङ मुक्त भएपनि निर्यात गर्नका लागि विद्युत र पानी संचय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
एउटै कोठामा बसेर शहरभरीको ग्राहकको बत्तिको स्वीच नियन्त्रण गर्ने किसिमको स्मार्ट प्रविधिमा जान सकेमा विद्युत उर्जाको बचत हुनुका साथै आवश्यकता अनुसारको उपयोग गर्नबाट बन्चित हुनु नपर्ने उनको तर्क छ ।
यस्तै, उनले नेपाली जनताकै लगानीबाट जलविद्युत आयोजनाहरू बनाउन सकिने बताएका छन् । योजनावद्ध ढंगले अघि बढेमा नेपालमा प्रशस्त जलविद्युत् आयोजनाको संभावना रहेको भन्दै उनले ती आयोजना नेपालीकै लगानीमा सम्पन्न गर्न सकिने बताए । अन्तरक्रियामा घिसिङले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई साकार बनाउदै योजनावद्ध रुपमा नेपालीकै लगानीमा जलविद्युत् आयोजनाहरू निर्माण गर्न सकिने बताए ।
उनले, नेपालीको साथै विदेशी लगानी भित्राउनका लागि पनि पहल गर्नुपर्नेमा जोड दिए । विद्युत् उर्जामा आत्मनिर्भर हुदै निर्यात गर्नका लागि विद्युत् र पानी संचय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनुपर्नेमा प्राधिकरणका प्रमुख घिसिङले जोड दिए ।
घिसिङले लोडसेडिङको अन्त्य भए पनि गुणस्तरीय आपूर्ति, विद्युत् बचत, भोल्टेज अप्नाउन, लगायत विषयमा अझै सुधार नआइसकेको बताए । त्यस्तै, सो कार्यक्रममा घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाउछ ।
जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन सकिने उल्लेख छ ।
उनले भने, ‘अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ ।’
अहिले जलासययुक्त आयोजनालाई छाडेर नदीहरुमा साना आयोजना बनाउने अनुमति दि“दा भोलि ठूला आयोजना बनाउन समस्या हुने तर्क कुलमानको छ ।
‘९०० मेगावाटको दूधकोशी जलासययुक्त आयोजना बनाउछौँ भन्दा डुबान क्षेत्रमै पर्ने गरी भारतीय कम्पनीलाई ४० मेगावाटको आयोजनाको लाइसेन्स दिइएको रहेछ’ कुलमानले भने ‘अब यसरी त हुदैन ।’
उनले अघि भने, ‘ठूला जलासययुक्त आयोजनाहरु बने नेपालमै पानीजहाजसम्म ल्याउन सम्भव छ । हामीले धेरै मेगावाट विजुली निकालेर निर्यात पनि गर्न सक्छौं । त्यसैले अब त्यतैतर्फ अघि बढ्नुपर्छ ।’
यस्तै, घिसिङका अनुसार नेपाल विद्युत् प्राधिकरणले सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरेको छ ।
ठूलो क्षमताका ब्याट्रीको स्टोरेज परीक्षण गर्न एउटा दूर्गम गाउँमा पनि यस्तै ब्याट्री बैंक राख्ने योजना अघि सारिएको छ । अति सबेंदनशील क्षेत्र मानिएपनि सिंहदरबार र राष्ट्रपति भवनमा अहिले बेला÷बेलामा लाइन जाने गरेको छ । प्रसारणलाइनको समस्या र ट्रान्सर्फमर पड्कँदा समय÷समयमा लाइन जाने गरेको छ ।
यस्ता, संवेदनशील क्षेत्रमा हरेकपल विद्युत् उपलब्ध हुनपर्ने भन्दै घिसिङले ५ देखि १० मेगावाटसम्मका ब्याट्री राख्ने योजना बाहिर ल्याएका हुन् । घिसिङले यस्तो ब्याट्री स्टोरेज राख्नको लागि अहिले एसियाली बिकास बैंकसँग छलफल गरिरहेको जानकारी दिए ।
साथै उनले सिंहदरबार र राष्ट्रपति भवनबाहेक एक दूर्गम स्थानको गाउँमा पनि परीक्षणका रुपमा यस्तो खालको ब्याट्री राख्ने योजना बनाएका छन् । तर, कुन जिल्लाको कुन गाउँमा राख्ने भन्ने हालसम्म तय नभएको उनको भनाइ छ ।
उनले भने ‘ग्रामीण भेगमा पनि एक ठाउँमा यस्तो ब्याट्री पाइलट प्रोजेक्टको रुपमा इन्स्टलेशसन गर्ने योजना बनाइरहेका छौं ।’ कुलमानले नेपालमा बर्षायामममा धेरै बिजुली उत्पादन हुदा खेर जाने अवस्था रहेको भन्दै यी प्रोजेक्टमार्फत परीक्षण गरेर ठूला ब्याट्री स्टोरेज राख्ने योजना पनि अघि बढाइने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित