FLASH NEWS
  • Loading...

झिकिएको मृगौलाबारे छानबिन गर्न उच्चस्तरीय समिति

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—स्वास्थ्य मन्त्रालयले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) को घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।
अस्पतालले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको आरोप लगाउँदै बिरामी र उनका आफन्तले विरोध गर्दै न्याय पाउनुपर्ने माग राखेका छन् । सो घटनाबारे छानविन गरी प्रतिवेदन पेस गर्न सो समिती बनाइएको हो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीको संयोजकत्वमा सहसचिव सनत केसी, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिष्ट डा अनिल श्रेष्ठ, मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी र शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहेको समिति गठन गरेको हो ।
व्यवस्थापिका–संसद्कै बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा छानबिन आयोग गठन गरी प्रतिवेदन माग गरेपछि मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको हो ।
एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखको दुखाइपछि गत जेठ २२ गते उपचारका लागि उक्त अस्पतालमा भर्ना भएको जनाइएको छ । उनको जेठ २५ गते शल्यक्रिया भएको थियो ।
अस्पतालले बिरामीलाई शल्यक्रियाअगाबै मिर्गौला झिक्नुपर्नेबारे जानकारी नदिएको र झिकेपछि विभिन्न सम्झौता गरी आफन्तलाई फकाउन खोजेको भन्दै बिरामी पक्षले विरोध गर्नुको साथै उक्त सम्झौता मान्य नहुने भन्दै सञ्चारमाध्यममार्फत क्षतिपूर्तिको मागसमेत गरेका छन् ।
तर अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी बिरामीको शल्यक्रियाका क्रममा अत्यधिक रक्तश्राव हुँदा आफन्तकै सहमतीमा विरामीको ज्यान बचाउन मिर्गौला झिक्नु परेको भन्दै पत्रकार सम्मेलन मार्फत स्पष्टीकरण दिइसकेको छ । अस्पतालका निर्देशक डा धर्मराज सुवेदीले परिवारको पूर्ण सहमतिमा मिर्गौला झिकिएको भन्दै लालचमा परी बिरामीका आफन्तले सो आरोप लगाएको बताएका थिए ।
रिमालको पत्थरी झिक्ने क्रममा मिर्गौला झिकेपछि अस्पताल प्रशासनले बिरामीका आफन्तसँग छबुदे सम्झौता गरेको थियो । तर बिरामी र उनका आफन्तले मिर्गौला झिक्नुको कारणको माग गर्दै ५० लाख क्षतिपूर्ति माग गरेका छन् । आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप पनि बिरामीले लगाउँदै आएका छन् ।
मिर्गौला झिक्नुका कारण आन्तरिक रक्तश्राव भनिए पनि अस्पताल र बिरामीका आफन्तबीच भएको छबुदे सम्झौतापत्रमा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायत सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीकी श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने तथा बिरामीको जीवन बीमा गरिदिने उल्लेख छ ।
नेपाल युरोलोजिक शल्यचिकित्सक संघले विज्ञप्ति निकाली घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै शल्यक्रियामा संलग्न चिकित्सकलाई आधारहीन आरोप लगाउनु गलत भएको धारणा व्यक्त गरेका छन् ।
अस्पतालले घटनापछि कानुनी उपचार नखोजी बिरामी पक्षसंग सम्झौता गरेकाले घटनालाई थप जटिल बनाएको संघका अध्यक्ष प्रा डा विश्वराम जोशी र महासचिव प्रा डा पारसमणि श्रेष्ठद्वारा विज्ञप्ति जारी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित