FLASH NEWS
  • Loading...

प्रजनन अधिकार महिलालाई हुनुपर्ने सभामुखको धारणा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने सभामुख ओनसरी घर्तीमगरको धारणा छ ।
विश्व जनसंख्या दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पुरुष प्रधान हाम्रो समाजमा बच्चाको निर्णय पुरुषले गर्ने हुनाले महिलाहरु बच्चा जन्माउने मेसिन जस्तो मात्र भएकोले अब बच्चाको निर्णय पनि आमाले नै गर्न पाउनुपर्ने उनको तर्क थियो । उनले दुर्गम गाउँमा बस्ने एक महिलाले ६ वटी छोरी जन्माउँदासम्म छोरा पाउन पतिले दिएको दबाबलाई नेपाली समाजको एउटा विकृतिको रुप भएको उनको ठम्याई थियो ।
विश्वमा बढ्दै गएको जनसंख्यालाई नियन्त्रण र पैभावकारी बनाउने उदेश्यले हरेक वर्ष विभिन्न नाराको साथ यो दिवस मनाइन्छ । सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ का दिन विश्व जनसंख्या दिवस मनाइँदै आइएको छ । यसवर्ष विश्व जनसंख्या दिवसको नारा ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने छ ।
नेपालमा सन् १९९० देखि लगातार जनसंख्या दिवस मनाइँदै आइएको छ । विसं २०५६ मा विद्यालय तहमा जनसंख्या शिक्षा विषय पढाउन थालिएपछि नेपालमा जनसंख्या नियन्त्रण सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । नेपालले यस वर्ष व्यवस्थित परिवार ः समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ तीन दिन यो दिवस मनाउँदै छ ।
संयुक्त राष्ट्रसंघीय जनसांख्यिक कोष (युएनएफए) का राष्ट्रिय प्रतिनिधि जुलिया भ्यालेन्सले जनसंख्या वृद्धिमा नेपाली युवा–युवतीको संख्या आकर्षक रहेको बताउँदै जनसंख्या नियन्त्रणमा सरकारले लगानीमा वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए ।
सन् १९८७ मा विश्वमा पाँच अर्ब जनसंख्या पुगेपछि जनसंख्या सम्मेलन (पपुलेसन समिट) ले जनसंख्या दिवस मनाउने निर्णय गरेको थियो । एक अध्ययनअनुसार सन् २०१७ अप्रिल २४ सम्म विश्वको जनसंख्या सात अर्ब ५० करोड पुगेको उल्लेख छ ।
विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ पुगेको छ जसमा पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ र महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४६३ छ । नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ ।
नेपालमा जनसंख्या वृद्धिदर १ दशमलव ०३५, जनघनत्व प्रतिवर्ग किमी १८०, कृषिमा आबद्ध ६५ दशमलव ०६ प्रतिशत, कोरा जन्मदर (हजारमा) २४ दशमलव ३, कोरा मृत्युदर (हजारमा) ८ दशमलव ३, घरपरिवार संख्या पाँच लाख ४२ हजार ७०२, शिशु मृत्युदर ४४ प्रतिशत र र औषत आयु ६४ दशमलव १ वर्ष रहेको छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्रमुख डा रामशरण पाठकले भने, ‘नेपालमा अशिक्षा, गरिबी र परम्परागत सोचाइले जनसंख्या वृद्धि रोक्न सकिएको छैन । छोरा पाउँदा खुशी हुने र छोरी पाउँदा दुःखी हुने नेपाली समाजमा सकारात्मक सन्देशको भावना फैलाउन जरुरी छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित