FLASH NEWS
  • Loading...

आवास अनुदान असारभित्र लिइसक्न निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

काठमाडौं—आगामी असार मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि अनुदान लिइसक्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्तिम मिति तोकेको छ ।
सोमबार बसेको निर्देशक समितिको बैठकको निर्णयानुसार प्राधिकरणले समय सीमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको हो । प्राधिकरणले निर्धारण गरेको तालिकानुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनःनिर्माणको तीनै किस्ताको अनुदान लिइसक्नुपर्नेछ ।
निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भई घर निर्माण सुरु गरिएको संख्या कम रहेकाले पुनःनिर्माणलाई तीव्रता दिन भूकम्प प्रभावित ३१ जिल्लामै लागू हुने गरी समय सीमा निर्धारण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । निर्धारित तालिकानुसार पहिचान भएका सबै लाभग्राहीले आगामी कात्तिक मसान्तभित्र अनुदान सम्झौता गरी प्रथम किस्ता लिइसक्नुपर्नेछ । गत पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले आगामी पुस मसान्तसम्म र आगामी कात्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ ।
यसैगरी आगामी पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले आगामी जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ । आगामी चैत मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने घरधनीले आगामी असार मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने गरी प्राधिकरणले समयावधि निर्धारण गरेको छ ।
गत असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान प्राप्त गर्ने अन्तिम तालिका स्वीकृत गरेपछि प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि समय सीमा तोकी थप अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पछिल्लो तथ्यांकनुसार निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८२२ घरधुरीमध्ये पा“च लाख ९४ हजार १५० घरधुरीले पहिलो किस्ता लिएका छन् । तीमध्ये पनि ५२ हजार १६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ ।
अनुदान लिनेलाई घर पुनःनिर्माण सम्पन्न गर्ने म्याद नतोकि“दा लाभग्राहीमा जहिले निर्माण सुरु गरे पनि हुन्छ भन्ने धारणा देखिएका कारण समय सीमा निर्धारण गर्नुपरेको प्रवक्ता भुसालले जानकारी गराए । प्राधिकरणले लाभग्राहीलाई अनुदान लिने प्रक्रियामा ढिलाइ नहोस् भनेर अग्रिम रुपमै प्रभावित जिल्लामा अनुदान रकम पठाइए पनि दोस्रो र तेस्रो किस्ता लिनेको संख्या बढ्न सकेन । यसैले समय सीमा तोकेरै अभियानका रुपमा कार्यक्रम सुरु गरिएको उनले सुनाए । भूकम्प प्रभावित भनी प्रमाणीकरण भएका लाभग्राहीले पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख गरी ३ लाख पाउने गरी कार्यविधि तयार भएको छ ।
तर अनुदानको रकम दिदाँ उसले गरेको कामको पनि जानकारी गराउनुपर्ने हुनाले कतिपयले बाँकी अनुदानको रकम लिनलाई चासो देखाएको पाइदैन भने कतिपयले आवास अनुदानलाई घर खर्चमै सिद्धाएका कारण पनि अरु किस्ता लिनको लागी उनीहरुलाई गाहे भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित