FLASH NEWS
  • Loading...

चिरकालिज लोप हुने अवस्थामा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७६ पटक पढिएको
चिरकालिज लोप हुने अवस्थामा

म्याग्दी- कात्तिक  विश्वमा नै संकटापन्न र नेपालका लागि दुर्लभ मानिने चिरकालिज वासस्थान र उचित वातावरण अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । 

त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा पुगेर गरेको अध्ययन÷अनुसन्धानबाट म्याग्दीमा ५० देखि ६० वटासम्म मात्र चिरकालिज रहेका खुल्न आएको हो । चोखालले म्याग्दीमा चिरकालिजको अवस्था, बासस्थान, संख्या र लोप हुनुका कारणको विषयमा लामो अनुसन्धान गर्नुभएको हो । ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अंग्रेजीमा चिर फेजेन्ट, नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु नामले चिन्ने गरिन्छ । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थानलगायतका संस्थाको सहयोगमा चोखालले यो पक्षीको अवस्थाका बारेमा अनुसन्धान गर्नुभएको हो । साइटिस घोषणापत्र र आइयुसिएन अन्तरराष्ट्रिय संस्थाको सूचीमा समावेश यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत गरिएको छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एकहजार ४०० मिटरदेखि तीनहजार ६०० मिटरसम्मको भूभागमा पाइने अनुसन्धानकर्ता चोखालले बताउनुभयो । कालीगण्डकीको पश्चिम क्षेत्रमा पाइएको र नेपालमा करिब एक हजारको संख्यामा रहेको यो पक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटा रहेको अनुसन्धानकर्ता चोखालले बताउनुभएको छ । यो विश्वमा नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने चरा भएको उहाँले जानकारी दिनुभयो । झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र यसमा धेरै भिन्नता रहेको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । उहाँका अनुसार यसको भालेको पुच्छर लामो हुन्छ, आँखामा रातो रङ हुन्छ, शरीरमा सेतो थोप्लामा कालो बुट्टा रहेको हुन्छ । आकारमा पोथी, भालेभन्दा सानो हुन्छ र पोथीको पुच्छर छोटो हुन्छ । यसले विशेष गरी चैतदेखि जेठसम्म मात्रै अण्डा पार्ने र बच्चा कोरल्ने गरेको तथ्य पत्ता लागेको चोखालले बताउनुभयो । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र ‘चिर चिर’ गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो । चोखालका अनुसार यो पक्षी मुख्य गरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । यसले भिरमा नै बच्चा कोरल्ने, भिरमा नै बच्चा हुर्काउने गर्दछ । यसले एकपटकमा सातदेखि १५ वटासम्म अण्डा पार्ने गर्दछ । चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जमा रहेको विभिन्न अनुसन्धानबाट खुल्न आएको चोखालले जानकारी दिनुभयो । संरक्षित क्षेत्रभन्दा बाहिर विशेषगरी म्याग्दी, बागलुङ र मध्य तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट खुल्न आएको छ । म्याग्दी जिल्लामा यो पक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको तटीय क्षेत्रमा पाइएको चोखालले बताउनुभयो । अवैध चोरी शिकारी, आगलागी, बासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको चोखालको भनाइ रहेको छ । चोखालका अनुसार समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, बासस्थानको संरक्षण तथा बासस्थानबीचको बाटो निर्माण तथा थप अनुसन्धान गर्ने हो भने यो पक्षीको संरक्षण गर्न सकिन्छ । चोखालका अनुसार पर्यापर्यटनको विकास, जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तु संरक्षणका लागि पनि चिर कालिजको संरक्षण गर्नु आवश्यक छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित