FLASH NEWS
  • Loading...

लोडसेडिङ घटाउन एकैपटक २४ सय कर्मचारीलाई सरुवा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


लोडसेडिङ हटाउने अभियान अन्र्तगत विद्युत प्राधिकरणका विभिन्न तहमा कार्यरत कर्मचारीलाई सरुवा गर्न थालिएको छ । लोडसेडिङ हटाउन अवरोध गर्ने नेपाल विद्युत प्राधिकरणअन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीलाई विभिन्न ठाउमा एकसाथ सरुवा गरिएको छ ।
प्राधिकरणले काठमाडौं क्षेत्रीय कार्यालयमा ७८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३२९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २९२ कर्मचारीहरुलाई सरुवा गरेको छ ।
यसैगरी बुटवल क्षेत्रीय कार्यालयमा २६५, पोखरा क्षेत्रीय कार्यालयमा १६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ कर्मचारीहरु सरुवा भएका छन् ।
तर सरुवा विरुद्ध केहि कर्मचारी युनियनहरु लागेका छन् । उनीहरुले यसको विरुद्ध आन्दोलन गर्ने धम्कीका साथ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गरेका छन् ।
सरुवाविरुद्ध कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन सुरु गरेका छन् । तर सो आन्दोलनलाई ऊर्जा मन्त्रालयले विद्युत चोर जोगाउने काम भएको भन्दै विरोध गरेको छ ।
मुलुकमा करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरी भएको पत्ता लागेपछि त्यसमा संलग्न भएको अपराधीहरुलाई समात्ने र सरुवा गर्ने काम सुरु गरिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले हालै प्राधिकरणका कर्मचारी र केही व्यापारीहरुलाई पक्राउसमेत गरिसकेको छ ।
गत आइतबार विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जन उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स मिलेमतो गरी मिटरको अङ्क घटाउने कार्यमा संलग्न १० जना बहालवाला कर्मचारी र दुई जना पूर्वकर्मचारी तथा चारजना व्यवसायीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौं उपत्यका र हेटांडाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
तर त्यसरी पक्राउ परेकाहरुलाई उन्मुक्ति दिन कर्मचारीहरुले दबाव दिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले भने विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको जनाएको छ । तर सरुवाको विरोध भए पछि मन्त्रालयले २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीहरुलाई नियमअनुसार नै सरुवा गरिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित