FLASH NEWS
  • Loading...

गौचन हत्याका मुख्य योजनाकार समिरमानकी श्रीमती माया पक्राउ

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ९७ पटक पढिएको
गौचन हत्याका मुख्य योजनाकार समिरमानकी श्रीमती माया पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।

यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा शेरचनलाई पक्राउ गरिएको हो ।

महाशाखाको विशेष प्रहरी टोलीले शेरचनलाई आज स्वयम्भुको ठूलो भर्‍याङ क्षेत्रबाट मायालार्इ पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।

स्रोतका अनुसार यसअघि पक्राउ परेका ३ जनाले मायाले नै आफूहरुलाई हतियार दिएको बयान दिएका थिए । महाशाखा स्रोत भन्छ, ‘बुटवलका युवा संघका नेता दुर्गा तिवारी, गौचन र गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारको घटनामा प्रयोग भएको पेस्तोल मायाले उपलब्ध गराएको बयानपछि उनलाई पक्राउ गरेका हौं ।’

तीन वटै गोलीकाण्डमा ९ एमएमको पेस्तोल प्रयोग भएको थियो । उनीहरुले बयानमा घटनामा प्रयोग भएको पेस्तोल दरबारको भएको दाबी गरेका थिए ।

‘उनीहरुले समिरको बुबा पहिले दरबारको माली भएको बताउँदै पेस्तोल दरबारको भएको दाबी गरेका छन्’ ।

प्रहरीले त्यो पेस्तोल दरबारको हो या होइन भन्ने विषय यकिन गरिसकेको छैन ।

उता, सुटरहरू फरार रहेका वेलामा बस्न्यातले विभिन्न व्यक्तिबाट उनीहरूसम्म रकम पठाउने गरेको यसअघि नै खुलासा भइसकेको छ । जुन काममा मायाले समिरलार्इ साथ दिएको प्रहरीको दाबी छ ।

‘कति पटक उनी आफैंले पनि रकम पठाइदिएको खुलेको छ’, एक अधिकारीले भने ।

यसअघि नख्खु कारागारमा रहेका समिरमान सिंह बस्नेतलाई मुस्ताङ कारागारमा सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् । तर, प्रहरीले भने सिंहले अर्को हाइप्रोफाइल हत्या योजना बनाइरहेकाले सरूवा गरिएको दाबी गरेको थियो ।

यद्यपि, बस्न्यात परिवारले षडयन्त्रपूर्वक समिरलार्इ त्यहाँ लगेको भन्दै सर्वोच्च अदालतमा समेत रिट हालेको थियो । र, हाल समिरलार्इ केन्द्रीय कारागारको गोलघरमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित