FLASH NEWS
  • Loading...

असार सकिन लाग्यो, बल्ल ३५ प्रतिशत रोपाइँ

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९७ पटक पढिएको
असार सकिन लाग्यो, बल्ल ३५ प्रतिशत रोपाइँ


काठमाडौं । नेपालमा असारलाई रोपाइँ महिनाको रुपमा लिइन्छ । पहाडदेखि तराईसम्म प्राय असारमै धान रोपाइँ हुन्छ । मनसुन अगाडि नै शुरु भयो भने र सिंचाइको लागि पानी उपलब्ध भएसम्म असारमै रोपाइँ गरिन्छ ।

तराईका केही ठाउँमा भने साउनको पहिला तथा दोस्रो सातासम्म पनि धान रोप्ने चलन छ । तर देशको समग्र ठाउँका रोपाइँ असार सकिँदा प्राय सिद्धिन्छ । तर यसवर्ष मनसुन अगाडि नै शुरु भए पनि रोपाइँ भने खास्सै हुन सकिरहेको छैन । रोपाइँ हुन नसक्नुको कारण हो मलको अभाव । किसानले मल नपाउँदा समयमै रोपाइँ नभएको हो ।

रासायनिक मल अभावका कारण समयमै रोपाइँ गर्न नपाउँदा यो वर्ष धान उत्पादनमा कमी आउने संकेत देखिएको छ। कृषि सेवा विभाग मुलुकमा यसवर्ष अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै रोपाइँ भएको जनाएको छ। विभागका महानिर्देशक डा रेवतीरमण पौडेलले यसपल्ट समयमै मनसुन शुरु भए पनि किसानले मल नपाउँदा रोपाइँ प्रयाप्त मात्रामा हुन नसकिरहेको बताउनु भयो । किसान अब मलका लागि कुरेर नबस्ने पौडेलको भनाइ छ। गत वर्ष असार अन्तिम सातासम्म ५० प्रतिशत बढी धान रोपाइँ सकिएको थियो । तर यस वर्ष भने असार सकिन लाग्दा समेत रोपाइँ अल्यन्तै कम भएको छ ।

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा रोपाइँ सकिन लागेको विभागले जनाएको छ । जुम्लामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने हुम्लामा ९८ प्रतिशत, डोल्पामा ९५ प्रतिशत, मुगुमा ७५, सल्यानमा ७० प्रतिशत, रुकुम पश्चिममा ६८ प्रतिशत, कालीकोटमा ६० प्रतिशत रोपाइँ भएको विभागको तथ्यांक छ।

प्रदेश १ मा हालसम्म ३१।९६ प्रतिशत रोपाइँँ भएको छ। प्रदेश १ को भोजपुरमा सबैभन्दा बढी रोपाइँ भएको विभागको तथ्यांक छ। विभागका अनुसार भोजपुरमा ६० प्रतिशत, झापामा ४६ प्रतिशत, ओखलढुंगामा ४१ प्रतिशत, सोलुखुम्बुमा ४६ प्रतिशत रोपाइँ भएको छ। प्रदेश १ का अन्य जिल्लामा २०–३५ प्रतिशत मात्र रोपाइँ भएको देखिएको छ।

मधेस प्रदेशमा करिब २५ प्रतिशत हाराहारी रोपाइँ भएको छ। बागमती प्रदेशमा ३१ प्रतिशत रोपाइँ भएको विभागले बताएको छ।

बागमती प्रदेशको काठमाडौंमा सबभन्दा बढी रोपाइँ भएको छ भने सबभन्दा कम चितवनमा भएको छ। विभागका अनुसार काठमाडौंमा ६१ प्रतिशत, ललितपुरमा ५० र भक्तपुर ५९ प्रतिशत रोपाइँ भएको हो।

रामेछापमा २२, दोलखामा ३६, सिन्धुलीमा ४०, काभ्रेमा ५६।५ प्रतिशत रोपाइँ भएको छ। यस्तै, बागमती प्रदेशकै सिन्धुपाल्चोकमा २५ प्रतिशत र सबभन्दा कम चितवनमा ५ प्रतिशत मात्र रोपाइँ भएको विभागले तथ्यांक सार्वजनिक गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित