FLASH NEWS
  • Loading...

मस्यौदामा सहमति जुटाउन कांग्रेसको बैठक बस्दै

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४४ पटक पढिएको
मस्यौदामा सहमति जुटाउन कांग्रेसको बैठक बस्दै

काठमाडौं । विधान मस्यौदामा सहमति जुटाउन भन्दै नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आजबस्दैछ। केन्द्रीय कार्यलय सानेपामा दश बजे बस्ने बैठकमा पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउन प्रयास गरिने कांग्रेसले जनाएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार महामन्त्रीद्वय पूर्णबहादुर खड्का, शशांक कोइराला, सहमहान्त्री डा। प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, नेता कृष्ण सिटौला, अर्जुनरसिंह केसीलगायत पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक बस्न लागेको नेता मीन विश्वकर्माले जानकारी दिए।

पार्टीको पदाधिकारी संख्या र उनीहरूलाई निर्वाचित गराउने पद्धतिबारे बिहीबारको केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि शुक्रबार पदाधिकारी बैठक बस्न लागेको हो। शुक्रबार राति ८ बजेसम्म शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटे पनि सहमति भने हुन सकेन। अहिले पदाधिकारीको संख्या कति बनाउने, पदाधिकारी निर्वाचित गर्ने वा मनोनयन गर्ने भन्ने विवाद छ। संख्याका विषयमा भने संस्थापन समूह पनि सहमति नजिक आएको संस्थापनइतर समूहका एक नेताले जानकारी दिए। संस्थापन समूहले आधा निर्वाचित र आधा मनोनयन गर्नुपर्ने अडान राखेको छ।

संस्थापन समूहले दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ जनाको पदाधिकारी प्रस्ताव गरेको छ। यता संस्थापनइतर समूहले भने तीन उपसभापति, तीन महामन्त्री र तीन सहमहामन्त्रीसहित ११ जनाको पदाधिकारी बनाउन प्रस्ताव गरेको छ। उसले सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने प्रस्ताव गरेको छ। विधान मस्यौदामा नेताहरूबीच एकै मत बनाएर दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तावित विधान पारित गर्ने तयारी भएको कांग्रेसले जनाएको छ।

दिउँसो ३ बजे केन्द्रीय कार्यलय सानेपामा नै केन्द्रीय समिति बैठक बस्नेछ। नेताहरूबीच सहमति नहुँदा महासमिति बैठकको पूर्वसन्ध्यामा समेत विधान संशोधन प्रस्ताव केन्द्रीय समिति बैठकबाट पास हुन सकेको छैन। यसैबीच शनिबार हुने महासमिति बैठकका लागि आज देशभरका विभिन्न निर्वाचन क्षेत्र तथा विदेशस्थित सम्पर्क समितिबाट १६ सय बढी महासमिति प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौं आउँदैछन्। उनीहरूलाई आज दिउँसो पार्टी कार्यालयमा स्वागत गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित