FLASH NEWS
  • Loading...

रक्तपात रोक्न चुनाव स्थगित गरेको सरकारी भनाई

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail

 

काठमाडौं– प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको सहमतिका आधारमा प्रदेश नम्बर २ को निर्वाचन सारेको हो ।
यससँगै स्थानीय तहको निर्वाचन तीन चरणमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ मा यसअघि ३१ बैशाखमा चुनाव सम्पन्न भइसकेको र भरतपुर महानगरपालिका बाहेकको परिणाम आइसकेको छ । अब प्रदेश नम्बर १, ५ र ७ मा १४ असारमा र प्रदेश नम्बर २ मा भने २ असोजमा हुनेछ ।
यसअघि राजपा र सरकारबीच प्रदेश नम्बर २ को निर्वाचन सार्ने सहमति भएको थियो । प्रदेश नम्बर २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तेस्रो चरणको निर्वाचन हुने भएको हो ।
उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले २ असोजमा प्रदेश नम्बर २ को निर्वाचन गर्ने निर्णय भएको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले दोस्रो चरणको निर्वाचन कार्यतालिकासमेत निर्वाचन आयोगले परिमार्जन गर्ने जानकारी दिएका छन् । सरकारले निर्वाचन आयोगलाई मनोनयन दर्ताको मिति दुई दिन सार्न आग्रहसमेत गरेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि २ असारमा मनोनयन दर्ता गर्ने गरी कार्यतालिका प्रकाशित गरेको थियो । अब मनोनयन दर्ता ४ गते हुनेछ । सरकारले राजपालाई निर्वाचनमा ल्याउनकै लागि २ दिन मनोनयन दर्ताको समय पर सारेको जनाएको छ ।
राजपाले भने प्रदेश नम्बर ५ सहित अन्य प्रदेशमा निर्वाचनमा भाग लिने वा नलिने विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् ।
मन्त्री श्रेष्ठले भने राजपालाई निर्वाचनमा ल्याउन पहल गरिरहेको बताएका छन् । उनले भने, ‘राजपाको अवस्था हेर्दा उसले अरु प्रदेशमा निर्वाचनमा भाग लिन्छ । हामीमा त्यो खालको अन्डरस्ट्यान्डिङ छ ।’ उनले राजपाले निर्वाचनमा भाग लिने विश्वास समेत व्यक्त गरे ।
यता, सरकारले भने रक्तपात रोक्न २ नम्बर प्रदेशमा चुनाव स्थगित गरेको जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई नम्बर प्रदेशमा रक्तपात रोक्न निर्वाचन स्थगित गरेर अर्को मिति तोक्नुपरेको उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए । दुई नम्बर प्रदेशमा निर्वाचन पर सार्न विपक्षी दल एमालको पनि समर्थन रहको उनको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित