FLASH NEWS
  • Loading...

साफ च्याम्पियनसिपमा महिला टोलीलाई इतिहास रच्ने अवसर

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८८ पटक पढिएको
साफ च्याम्पियनसिपमा महिला टोलीलाई इतिहास रच्ने अवसर

काठमाडौं । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो र टोलीका केही सिनियर खेलाडीका लागि साफ च्याम्पियनसिप जित्ने यो अन्तिम अवसर भनेका छन्।

यसबाटै प्रतियोगितामा उनी कति गम्भीर छन् भन्ने बुझ्न सकिन्छ। ‘यो मेरो र सन् २०१४ देखि टोलीमा रहेका खेलाडीका लागि उपाधि जित्ने अन्तिम मौकाका रुपमा रहेको छु’, थापाले भने।

उनले दोस्रो पटक महिला टोलीको जिम्मेवारी पाएका हुन्। यस्तो अवसर कमैले पाउँछन्।

उनी भन्छन्, ‘२०१४ बाट खेल्नेले पनि पटक पटक फाइनल खेलेका छन्। तर हरेक पटक असफल भइयो भने त्यसपछि फेरि अर्को मौकाको अपेक्षा राख्नु हुन्न। फुटबलमा हायर एण्ड फायर नै हुन्छ।’

घरेलु मैदानमा मंगलबार शुरु हुने च्याम्पियनसिपलाई थापा र उनको टोली ऐतिहासिक बनाउने लक्ष्यका साथ तयारी गरिरहेको छ। साफ च्याम्पियनसिपको छैटौं संस्करणमा आइपुग्दा नेपालले दोस्रो पटक आयोजनाको मौका पाएको हो। पाँचौँ संस्करण २०७५ मा विराटनगरमा भएको थियो।

काठमाडौंमा पहिलोपटक महिला च्याम्पियनसिपको आयोजना हुँदा खेलाडी र आफू सबै उत्साहित रहेको थापा सुनाउँछन्।

‘यस्तो मौका बारम्बार आउँदैन। घरेलु दर्शक सामू च्याम्पियन बनेर इतिहास रच्न चाहेर पनि पाइँदैन’, थापाले भने, ‘हामीले त्यो मौका पाएका छौँ। दशरथ रंगशालामा च्याम्पियन बन्ने अवसर खेर फाल्यौं भने जीवन भर रिग्रेट हुन्छ। हामी रिग्रेट नहुने गरी नतिजा ल्याउन प्रयास गर्नेछौँ।’

साफ च्याम्प्यिनसिपमा भारतपछि सदावहार दाबेदार नेपाल नै हो। इतिहासले त्यही भन्छ। पाँचौँ संस्करणमध्ये चौथोबाहेक सबैमा नेपाल फाइनल पुगेको छ। भारत पाँचै पटकको च्याम्पियन हो। एक पटकमात्र सन् २०१६ मा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। संयोग त्यति बेला थापा नै टोलीको मुख्य प्रशिक्षक थिए। त्यति बेलाको सेमिफाइनल प्रतिद्वन्द्वी पनि अरु कोही नभएर भारत नै थियो।

साफ च्याम्पियनसिपमा नेपालले हराउन नसकेको भनेको भारत मात्रै हो। फिफाको निलम्बनका कारण दुई साता अघिसम्म पनि भारतको सहभागिता अनिश्चित थियो। गत साता निलम्बन फुकुवा भएसँगै भारतको सहभागिता निश्चित मात्र होइन टोली काठमाडौं आइसकेको छ। सबै टोली काठमाडौं आइसकेका छन्।

साफ च्याम्पियनसिप होस् वा दक्षिण एसियाली खेलकुद ९साग० सधैँ भारत नै नेपालको मुख्य बाधक हो। सागमा पनि नेपाल भारतसँग नै पराजित हुँदै आएको छ। तीन वर्षअघि १३औं सागको पोखरामा भएको फाइनलमा पनि नेपाल भारतसँग नै निराश भएको थियो।

इतिहास हेर्दा च्याम्पियन बन्नका लागि भारतलाई हराउनुपर्ने हुन्छ। श्रीलंका र भुटान रहेको समूह बी नेपालका लागि केही सहज मानिएको छ।

समूह चरण पार गरेपछि नेपालले सेमिफाइनलमै पनि भारतको सामना गर्नुपर्ने पनि हुन सक्छ। त्यसका लागि भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स रहेको समूह ए को राउन्ड रोविनको नतिजा कुर्नुपर्ने हुन्छ।

सेमिफाइनल होस् वा फाइनल जहाँ भेटे पनि भारतलाई हराउन नसक्दासम्म च्याम्पियन बन्ने सम्भावना छैन। अघिल्ला संस्करणको नतिजा हेर्दा नेपाल र बंगलादेशबाहेक भारतलाई बलियो चुनौती दिन सक्ने टोली छैनन्।

मुख्य प्रशिक्षक थापाले भारतमाथिको जित कति महत्वपूर्ण हुन्छ भन्ने राम्ररी बुझेका छन्।

‘हामीले खेल्दा भारतलाई हराउन सकेनौँ भनेर खेल जीवनमा रिग्रेट हुनुभन्दा केही गर्यौँ भनेर भन्न सक्ने हुनुपर्छ। हाम्रो पालामा भारतलाई हरायौँ भन्न सक्ने हुनुपर्छ’, उनले आशा गरेका छन्, ‘यो पटकको साफ घरेलु मैदान, खेलाडीको करियर र इतिहासले फरक पार्छ जस्तो लाग्छ। यो पटक पनि यस्तै नतिजा आयो भने मेरो लागि महिला फुटबलमा ढोका बन्द हुन्छ। जो ८ वर्षदेखि खेलिरहेका छन्, उनीहरुले सधैँ एउटा नतिजा ल्याउने हो भने नयाँ मान्छे आउँछ नयाँ ढङगले सुरुवात गर्छ।’

नेपालका लागि दशरथ रंगशालामा घरेलु दर्शकका सामु भारतलाई हराउने योभन्दा राम्रो मौका सायद नै अर्को आउला। भारत नेपालले हराउन नसक्ने टोली पनि होइन।

विराटनगरमा साफ च्याम्प्यिनसिप खेल्नुअघि हिरो गोल्डकपमा नेपालले भारतमाथि जित निकालेको थियो।

तर त्यो इतिहासिक सफलतालाई विराटनगरमा दोहोराउनबाट भने नेपाली टोली चुक्यो। मुख्य प्रशिक्षक थापा भारतले राम्रो खेलेर भन्दा पनि नेपाली टोलीले गर्ने गल्तीबाट हारेको स्मरण गर्छन्।

उनी भन्छन्, ‘हामी आफ्नै गल्तीका कारण पराजित हुन्छौ तर यो पटक गल्ती कम गर्ने रणनीतिमा छौँ।’

थापाले ३ नयाँलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्। उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका मिडफिल्डर दिपा शाही, फरवार्ड अमिशा कार्की र डिफेन्डर समिक्षा घिमिरेले पहिलो पटक राष्ट्रिय टोली मौका पाएका हुन्।

समिक्षाले उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेकी छिन्। २०७७ महिला लिगको दौरान घुँडामा चोट लागेपछि शल्यक्रिया गराएकी थिइन्। चोटमुक्तसँगै पुनरागमन गरेकी समिक्षा ‘डेब्यू’ गर्नेमा आशावादी छिन्।

भन्छिन्, ‘साफ च्याम्पियनसिप अनि दशरथ रंगशालामा यो ठूलो अवसर हो। खेल्ने मौका पाए भने आफ्नो शतप्रतिशत दिन्छु।’

सिनियर टोलीमा पर्दा उनको उत्साह नै बेग्लै छ।

‘सिनियर खेलाडीहरुबाट पनि धेरै सिक्ने अवसर पाएको छु’, आशावादी उनले थपिन्, ‘तयारी राम्रो भइरहेको छ। हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्नु नै हो।’

लगातारको च्याम्पियन भारत उपाधि रक्षाको लक्ष्यसहित नेपाल आइपुग्दा पाकिस्तान भने ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ। बंगलादेशले महिला फुटबलमा केही वर्षयता राम्रो लगानी गरेको छ भने भुटानले पनि विस्तारै गति लिइरहेको छ। साफमा भारतलाई अति बलियो मान्ने थापा पनि अन्य टोलीलाई पनि सहज लिन नहुने बताउँछन्।

‘भारतसँग त विशेष सतर्क हुनैपर्छ। त्यसबाहेक अन्य टोली पनि कमजोर छैनन्’, उनले भने, ‘सबैले राम्रो तयारी गरेका छन्। हामी कसैलाई कमजोर मान्ने छैनौँ। हरेक खेललाई उत्तिकै महत्व दिन्छौं। च्याम्पियन बन्नका लागि हरेक खेलमा सफल नतिजा निकाल्दै अघि बढ्नुपर्छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित