- Loading...
सहकारीबाट साढे चार लाख लुटपाट
- गोल्डेन खबर
- ६ साल अघि
- ३५ पटक पढिएको

धनगढी, २२ चैत । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्तीबजारमा रहेको सामुदायिक सहकारी संस्था लिमिटेडबाट आज दिउँसो रु चार लाख ४६ हजार लुटिएको छ ।
दिउँसो ३ बजेतिर तीन जनाको समूहमा नकाब लगाएर आएको लुटेरा समूहले सहकारीमा काम गरिरहेका कर्मचारीलाई तर्साउँदै लुटपाट गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले सानो हतियार बोकेका भनिएको सो समूहले रकम लुटेको बताउनुभयो । ग्राहकबाट उठाएको नगद गन्ती गर्ने क्रममा उक्त रकम लुटिएको बताइएको छ । प्रहरी घटनास्थल पुग्नासाथ लुटेरा समूह सीमावर्ती क्षेत्रतर्फ भागेको बताइएको छ ।
लुटेराको खोजी गर्न सीमा नाकासहित चारैतर्फ प्रहरी परिचालन गरिएको छ । सत्तीबजारबाट करिब तीन किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाका पर्दछ । प्रहरीले सहकारीकै कर्मचारीको मिलेमतोमा रकम लुटिएको हुनसक्ने आशङ्का गरेको छ । घटनाको सोधपुछका लागि उक्त सहकारीका लोखापाल मानबहादुर घर्ती र खजान्ची लक्ष्मण चौधरीलाई नियन्त्रणमा लिएको छ । रासस