FLASH NEWS
  • Loading...

किसानलाई अनुदान दिँदै स्थानीय तह

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ७७ पटक पढिएको
किसानलाई अनुदान दिँदै स्थानीय तह

किसानलाई कृषि तथा पशुपालन व्यवसायमा लाग्न आकर्षित गराउने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहहरुले अनुदानका कार्यक्रमहरु सञ्चालन गरेका छन् । यसले किसानहरुमा व्यावसायिक ढङ्गबाट कृषि तथा पुशपालनतर्फ लाग्न अभिप्रेरित गरेको छ ।
गल्याङ नगरपालिकाले दूध उत्पादन गर्दै आएका किसानलाई रु ४७ लाख बढी रकम अनुदान वितरण गरेको छ । नगरपालिकाभित्र गाई र भैंसीपालन गरेर व्यावसायिक रुपमा दूध उत्पादन गर्दै आएका किसानलाई प्रतिलिटर रु १५ का दरले गत आर्थिक वर्षमा रु ४७ लाख १२ हजार २७७ अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले किसानलाई कृषि पेशामा लाग्न प्रेरणा दिंदै नगरलाई कृषिका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान वितरण गरिएको नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपालन र कृषिका माध्यमबाट रोजगारीको सिर्जना गर्नुका साथै नगरपालिकालाई आत्मनिर्भर बनाउने योजनाअनुसार नगरपालिका अगाडि बढेकाले पशुपालन र कृषि क्षेत्रमा हामीले विशेष जोड दिएका छौँ ।”
किसानलाई तीन किस्तामा अनुदान रकम वितरण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो प्रशासकीय अधिकृत पाण्डेका अनुसार पहिलो किस्ताअन्तर्गत किसानले नगरपालिकाबाट रु १४ लाख ५९ हजार १४० लगेका छन् भने दोस्रो किस्ताअन्तर्गत रु २२ लाख ८७ हजार ५८४ बुझेका छन् । कोभिड­१९ को सङ्क्रमणका कारण सरकारले बन्दाबन्दीको घोषणा गरेसँगै किसानले उत्पादन गरेको दूध बिक्रीमा कमी आएकाले तेस्रो किस्तामा किसानले रु नौ लाख ६५ हजार ५५३ लगेका छन् ।
दुग्ध सङ्कलन केन्द्र, सहकारी तथा फर्म सञ्चालक गरी नगरपालिकाबाट ६७६ जना किसानले अनुदान रकम प्राप्त गरेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले दूध उत्पादक किसानलाई प्रतिलिटर १५ रुपैंया अनुदानले दूध उत्पादनमा लाग्न उत्साहित बनाउनुका साथै वास्तविक किसानसामु अनुदान पुगेको बताउनुभयो ।
नगरपालिकाका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले दूध उत्पादनमा किसानको रुची बढ्दै गएको र यो अनुदान कार्यक्रमले व्यावसायिक किसान उत्पादन गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो । अर्यालले दूधमा उत्पादन बढाउनका लागि किसानको आवश्यकताअनुसार थुनेलो नियन्त्रणसहितका उपायहरु अपनाइएको बताउँदै २४ सै घण्टा किसानको सम्पर्कमा रहेर आफूहरुले काम गरिरहेको बताउनुभयो ।

बिउ मकै उत्पादन किसानलाई अनुदान

फेदीखोला गाउँपालिकाले मकै बिउ उत्पादन गर्ने किसानलाई १५ प्रतिशत अनुदान दिने भएको छ । मकैको बिउ उत्पादन गरेर गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बिउ मकै उत्पादन गर्ने किसानलाई अनुदानमा वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले किसानको आत्मवल नबढाएसम्म कृषि क्षेत्रमा प्रगति गर्न नसकिने भएकाले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउनभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “हामी आत्मनिर्भरताको कुरा गर्छौ, आत्मनिर्भर बन्नको लागि आफ्नै उत्पादन गरेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने योजनाका साथ गाउँपालिकाले कृषिको क्षेत्रमा लगानी गरिरहेको छ ।”
आर्थिक वर्ष २०७५÷७६ देखि मकै बिउ उत्पादन पकेट क्षेत्रमार्फत मकै खेती गर्दै आएका गाउँपालिका­४ आरुखर्क जसैडाँडामा २३० रोपनी क्षेत्रफलमा कृषकले बिउ मकै खेती गर्दै आएको गाउँपालिकाले जनाएको छ । गत वर्षभन्दा यस वर्ष बिउ मकै ४० प्रतिशतले वृद्धि हुने गाउँपालिकाका कृषि प्राविधिक शिशिर पण्डितले बताउनुभयो । अघिल्लो १६ मेट्रिक टन मकैको बिउ उत्पादन भएकामा यसवर्ष ४० प्रतिशत उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि प्राविधिकको भनाइ छ ।
जैसीडाँडा कृषक समूहमा आवद्ध ४० घरधुरीका कृषकहरु मकै बिउ उत्पादनमा लागेको समूहकी अध्यक्ष कल्पना पौडेलले बताउनुभयो । समूहकी अध्यक्ष पौडेलले मनकामना जातको मकैको बिउ उत्पादन गर्दै आएको र उत्पादन भएको मकै भण्डारणका लागि गाउँपालिकाले व्यवस्था गरेको जानकारी दिनुभयो ।
गतवर्ष रु ३० लाखको बिउ मकै उत्पादन भएकामा यसवर्ष समयमै वर्षात्, आवश्यक गोडमेल समेत राम्रो भएकाले उत्पादनमा वृद्धि उहाँको भनाइ छ । उत्पादन भएको मकैको बिउ स्याङजासँगै गुल्मी, पाल्पा, पर्वत, कास्की, तनहुँलगायतका जिल्लामा गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर प्रतिकेजी रु ६५ मा बिक्री गर्दै आएको मकै उत्पादक कृषक समूहकी अध्यक्ष पौडेलले बताउनुभयो ।
रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित